म्यानचेस्टर युनाइटेड र चेल्सीको सिजनमा दोस्रो बराबरी

चेल्सी र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनमा प्रभावशाली सुरुवात गर्न सकेका छैनन्।

दुई टिमले यो सिजनका चार खेल सकिँदासम्म एउटा मात्रै जित दर्ता गरेका छन् । समान एक एक खेलमा पराजित भएका चेल्सी र म्यानचेस्टर युनाइटेडले दुई खेलमा बराबरी गरेका छन् ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा पनि दुवै टिम बराबरीमा रोकिए । फ्र्यांक लाम्पार्डको प्रशिक्षणमा रहेको चेल्सी शेफिल्ड युनाइटेडसँग २–२ का बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा चेल्सी आत्मघाती गोलका कारण जितिसकेको खेलमा अंक बाँड्न बाध्य भएको हो । चेल्सीका लागि ट्यामी अब्राहमले पहिलो हाफमै दुई गोल गरेका थिए । उनले १९ र ४३ औँ मिनेटमा गोल गरेका हुन् ।

४६ औँ मिनेटमा क्यालम रोबिन्सनले शेफिल्ड युनाइटेडका लागि एक गोल फर्काए । चेल्सी जित नजिक थियो, तर ८९ औँ मिनेटमा जुमाले आत्मघाती गोल गरे । त्यसअघि अब्राहमको प्रहार गोल हुन सकेको थिए । आत्मघाती गोलले चेल्सीलाई बराबरीमा रोकिन बाध्य बनायो ।

यस्तै शनिबार राति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सीमित भएको साउथह्याम्पटनसँग १–१ को बराबरीमा रोकियो । १० औँ मिनेटमा जेम्सको गोलबाट लिएको म्यानचेस्टर युनाइटेडको अग्रता ५८ औँ मिनेटमा साउथह्याम्पटनका भेस्टेर्गाडले गोल गर्दै बराबरी बनाए ।

७३ औँ मिनेटमा ड्यान्सो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरियो । तर त्यसपछि पनि युनाइटेडले गोल गर्न सकेन । चेल्सी र युनाइटेड दुवैको चार खेलबाट समान पाँच अंक भएको छ ।

अर्को खेलमा न्युक्यासल र वाट्फोर्डले पनि १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *