चीनले नेपाललाई कोरोनाविरूद्ध लड्न आवश्यक सामग्रीहरू दिने

काठमाडौं, ११ चैत । चीनले नेपाललाई कोरोना भाइरसको उपचार र परीक्षणका लागि चाहिने आवश्यक सामग्रीहरू दिने भएको छ ।

उपचार र परीक्षणका लागि चाहिने सामग्रीहरू चीनबाट ल्याउन तयारी भइरहेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले के–के सामग्री, कसरी ल्याउने भन्नेबारे दुई देशका अधिकारीहरूबीच छलफल भइरहेको बताएका छन् ।

यसअघि चीनले नेपाललाई कोरोनाविरूद्ध लड्न के–के सामग्री चाहिन्छ भनेर सोधेको थियो ।

नेपालले आफूलाई चाहिने सामग्रीको लिस्ट चिकित्सकसँग सल्लाह गरेर पठाएको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले पनि नेपालमा मेडिकल सामग्रीहरू ल्याउन तयारी भइरहेको बताएकी छिन् ।

सोमबार साँझ ट्वीट गर्दै यान्छीले भनेकी छिन्, ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्‍याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं !’

यसअघि चिनियाँ कम्पनी अलिबाबाका संस्थापक तथा एसियाकै धनी व्यक्ति ज्याक माले पनि नेपाललगायत दक्षिण एसियाली मुलुकलाई मेडिकल सामग्री सहयोग गर्ने बताएका थिए ।

कोरोनाको उपचारका लागि भारतले पनि नेपालमा र्‍यापिड रेन्सपोन्स टिम पठाउने वचन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *