बुवाको हत्या आरोपमा छोरा थुनामा

सप्तरी । सप्तरीको महादेवा गाउँपालिका–१, पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुवाको हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो ।

नइममाथि उनका बुवा ६२ वर्षीय मो. गफुर पमरियाको हत्या गरेको आरोप छ। हत्याका अर्का आरोपी गफुरकी श्रीमती ५० वर्षीया जमुनी खातुनलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको जनाएको छ। मृतकका भाइ मो. इसराइल पमरियाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा आरोपीविरुद्ध गत असोज २० गते उजुरी दिएका थिए। मदिराको सुरमा कुटपिट गरी गफुरको हत्यापछि फरार रहेका जमुनी र नइमलाई प्रहरीले असोज २० गते पक्राउ गरेको थियो ।

छिमेकी फुल मोहम्मदकाअनुसार दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले असोज १९ गते राति बुवासँग झगडा गरी कुटपिट गर्दा गफुर घाइते भएका थिए। कुटपिटबाट घाइते गफुरलाई राजविराजस्थित अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो। आरोपी नइमले भने दाजु मो. हकिम पमरियासँग भइरहेको आफ्नो झडप छुट्याउन आएका बुवा अचानक लडेर मृत्यु भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *