काभ्रेमा लकडाउन कडा, १ सय ८६ सवारी साधन नियन्त्रणमा

काभ्रेपलाञ्चोक । लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन नभएको भन्दै आइतबारदेखी जिल्ला प्रहरी कार्यालय काभे्रले थप कडाई गरेको छ । शनिबारको तुलनामा आइतबार धेरै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाभर अनावश्यक रुपमा गुडेका १ सय ८६ सवारी साधनलाई आज प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १ सय ४९ मोटरसाइकल, २१ वटा स्कुटी र १५ वटा चार पाङ्ग्रे सवारी नियन्त्रणमा लिइएको हो । जेठ २५ गतेबाट लकडाउन खुकुलो हुने भन्ने भ्रम धेरैलाई भएको र सडकमा धेरै मात्रामा सवारी साधन गुड्न थालेपछि प्रहरीले सवारी चेकजाँच गर्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले बताए । उनका अनुसार आज आइतबार भएकाले धेरै बैंकिंङ कारोबारका लागि हिँडेकाहरु सवारी चेकजाँचका क्रममा प्रहरीको नियन्त्रणमा परेका छन् ।

लामसाँघुका सुरासिंह बैकिंङ कारोबारका लागि बिहान १० बजे बनेपा पुगेका थिए । बिहान बनेपासम्म पुग्दा कहीँ कतै चेकिङमा नपरेको तर फर्कदा धुलिखेलमा प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । उनका अनुसार आइतबार, मंगलबार र बिहीबार बैकिंङ कारोबार खुल्ने प्रशासनले निर्णय गरेको छ । तर बैकिंङ कारोबारमा यसरी बाधा अड्चचन गर्दा जनाताले दुःख पाएको उनले गुनासो गरे । ‘यसरी कडाका साथ चेकजाँच गर्नु थियो भने बिहान पनि चेक हुनुपथ्र्यो, उनले भने, ‘एकाएक यसरी निर्णय गर्दा कहाँ पुग्नुपर्ने, कहाँ अड्किएर बस्नु परेको छ ।’ ‘साँझ नभइ प्रहरीले उम्कन दिदैँन, होटलहरु सबै बन्द छन् कहाँ जाने ? के खाने ? भएको छ,’ उनले गुनासो गरे ।

त्यस्तै रोशीको कटुञ्जेबाट काठमाडौँ हिँडेकी शारदा श्रेष्ठको परिवारलाई आज मध्यन्ह १२ बजे प्रहरीले धुलिखेलमा नियन्त्रणमा लियो । अनावश्यक रुपमा सवारी चलाएको भन्दै आफ्नो सवारी नियन्त्रणमा लिएको उनले बताइन् । ‘आजबाट लकडाउन खुकुलो भयो भन्ने खबर पाएकाले घर हिँडेका थियौँ,’ उनले भनिन्, ‘बिचबाटो नआइपुग्दै प्रहरीको फन्दामा परियो । हिजोअस्ती यहीँ बाटो धेरैले ओहोर दोहोर गरे । तर प्रहरीले चेकजाँच गरेन । अचानक चेकजाँच गरेर यसरी अलपत्र पार्नु भएन ।’ शारदा जस्तै सयौँ जना प्रहरीले चेकजाँच गर्दा सवारी नियन्त्रणमा लिएपछि धुलिखेलमा अलपत्र परेको अवस्थामा भेटिए ।

प्रशासनले गरेको एक मिनेटको निर्णयले जनताले घण्टौँ दुःख दिने काम भएको भन्दै एक ट्याक्सीचालकले भने,‘एक छिन अघि बिरामीले लिएर अस्पताल जाँदा कहीँ कतै सवारी चेकजाँच थिएन । अहिले फर्कदा प्रहरीले नियन्त्रणमा लियो ।’
नियन्त्रणमा लिएका सवारी दिनभर प्रहरी कार्यालयको नियन्त्रणमा रहने र साँझ ट्राफिक नियम अनुसार १ हजार रुपैँया जरिवानापश्चात सवारी छोड्ने गरेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *