बुन्डेस लिगामा बायर्न म्युनिखको विजयी सुरुआत

जर्मनी । जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ । कोरोना भाइरसको महामारीका बीच ६६ दिनपछि पुनः सुरु भएको बुण्डेस लिगामा बायर्नले युनियन बर्लिनलाई उसकै मैदानमा २-० ले हराएको हो । 

बायर्नको जीतमा रोबर्ट लेवान्डोस्की र बेन्जामिन पाभार्डले १-१ गोल गरे । खेलको ४०औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै लेवान्डोस्कीले बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए । 

पाभार्डले ८०औँ मिनेटमा गोल गरेपछि बायर्न २-० ले विजयी भएको हो । जीतपछि शीर्ष स्थानको बायर्नको २६ खेलबाट ५८ अंक भएको छ ।

दोस्रो स्थानको बोरुसिया डर्टमुण्डको समान खेलबाट ५४ अंक छ । आइतबार राती नै भएको खेलमा कोल्न र माइन्जले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

कोरोना भाइरसको महामारीबाट प्रभावित भएयता सुचारु हुने बुन्डेस लिगा युरोपको पहिलो प्रमुख लिग हो। बुन्डेस लिगा सुचारु भए पनि मैदानमा खटिने कर्मचारी, प्रशिक्षक र खेलाडीहरूको सुरक्षाका लागि भने विशेष सतर्कता अपनाइएको छ।

गोल भएपछि खेलाडीलाई खुसीयाली मनाउँदा पनि सावधानी अपनाउन निर्देशन दिइएको छ। यद्यपि, सोमबार रातिको खेलमा पाभर्डले डेभिड अल्बासँग अँगालो हालेर खुसीयाली मनाएका थिए। लिग सुचारु भएको पहिलो दिन खेलिएको खेलमा बोरुसिया डर्टमन्डले घरेलु मैदानमा साल्केलाई ४-० गोलको फराकिलो अन्तरले हराएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *